बैशाख-२०
शुक्रबार राति ताप्लेजुङ सदरमुकाम फुङलिङमा भएको आगलागीबाट ८ घर जलेर नष्ट भएका छन्। आगलागीबाट ३२ परिवार प्रभावित भएका छन् । यस्तै ५ वटा संघसंस्थाका कार्यालयमा क्षति पुगेको छ। शनिबार बिहान संकलन भएको प्रारम्भिक विवरणअनुसार ८ घर परिवारसहित ती घरमा पसल, डेरागरी बस्ने ३२ परिवार विस्थापित बनेका छन्। साना होटल तथा पसलहरु जलेकाले अहिले नै क्षतिको विवरण संकलन भइनसकेको र अनुमानसमेत गर्न सकिने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए । बैठकले क्षतिको विवरण संकलन गर्न जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन पोखरेलको संयोजकत्वमा ४ सदस्यि समितिको गठन गरेको छ। उक्त समितिले क्षतिको विवरण संकलन गरिरहेको छ । आगलागी पीडितहरुलाई ताप्लेजुङ बहुद्देशीय सहकारी संस्थाले प्रतिपरिवार २ हजारका दरले राहत वितरण गरेको छ । यस्तै नेपाल रेडक्रस सोसाइटीले समेत राहत प्रदान गर्ने तयारी गरिरहेको छ । जिल्ला विपद् व्यवस्थापन समितिले भने क्षतिको पूर्ण्विवरण आइसकेपछि राहत उपलब्ध गराउने तयारी भएको जनाइएको छ । शुक्रबार राति करिब साढे १० बजेबाट सुरु भएको आगलागीले खेम केसी, नारायण भट्टराई, नेत्र कार्की, चन्द्र प्रसाद निरौला, ठगबहादुर कार्की, हस्तमाया लेछर्बो, रामकुमार शाह,  विष्णु कार्कीको घर जलेको छ ।

0 comments :

Post a Comment

 
Top