२०७६–०६–११

–गोविन्द काफ्ले (सम्पादक)
राणाशासनको लगभग अन्तिम समयदेखि    करिब ८ दशकको अवधि राजनैतिक ब्यवस्था परिवर्तनको संघर्षमा  जनताहरु विभिन्न राजनैतिक दलमा समाहित हुँदै अघि बढे । आ–आफ्ना दलका मूल्य मान्यताहरुलाई थाति राखेर सामन्तवादको पक्षपोषण गर्ने शाशनप्रणाली माथि प्रजातन्त्रको माग गर्दै स्वतःस्फूर्त रुपमा विभिन्न कालखण्डमा जनता उत्रँदा राजनैतिक प्रणालीमा ब्यापक परिवर्तन आयो । जनताको संगठित प्रतिरोधले देशमा विद्यमान राणाशासन मात्रै हटेन, निर्दलीय पञ्चायती ब्यवस्था र सो ब्यवस्थाको नाइकेको रुपमा रहेको राजतन्त्र समेत जनबलबाट समाप्त भएको छ । मुलुक गणतन्त्रात्मक शासन शैली अंगिकार गर्दै समाजवाद उन्मुख सुन्दर सपना साकारको यात्रामा छ । प्रजातन्त्रका सुन्दर पक्ष भनेकै बहुमतको शासन र अल्पमतको प्रतिपक्ष हो । सोही विश्वब्यापी मान्यता अनुरुप नेपाल पनि चल्नुपर्दछ । अल्पमतमा रहने पक्षले आफूमा भएको हिन भावना त्याग्ने र आगामी दिनको लागि तयारी सहित जनतालाई  झक्झक्याउने गर्नुपर्दछ भने बहुमत प्राप्त दलले समेत जितको दम्भ त्याग्दै, सबैलाई विश्वासमा लिएर जनताका आकांक्षाहरु सम्बोधन गर्दै विकास र समृद्धिको जग हाल्ने काममा लाग्नुपर्दछ । अत्याधिक जनसमर्थनबाट बनेको संघिय सरकार अनि भरखरै मात्र आफ्नो नयाँ अभ्यासमा रहेका सातवटै प्रदेश सरकारहरु लगायत जनताको घरदैलोको स्थानिय सरकारले आ–आफ्ना कार्यक्षेत्र र दायरा भित्र विकासको अभियान नथाली सुख छैन । र, उनीहरुलाई जनताको आकांक्षा प्रतिकुल हिँड्न र स्वेच्छाचारी हुन छुट पनि छैन । हो, जनताका विकासका आकांक्षाहरु असिमित छन् । सबै आकांक्षाहरु एकसाथ पुरा गर्न सकिन्न तर दिनको संकेत बिहानीले गर्छ भने झैँ हरेक             सरकारले पनि भावी सफलताको संकेत स्वरुप  राम्रा कामको थालनी गर्नुपर्दछ । केन्द्र सरकार आफ्नो नितिगत संरचनाको लागि क्रियाशिल भएको देखिन्छ । अहोरात्र कानुन निर्माणदेखि हरेक काममा क्रियाशिल हुँदा हुँदै पनि कार्य सम्पादनको दर भने सन्तोषजनक छैन । अतः केन्द्र सरकारको कार्यप्रणालीमा अझ सुधारको खाँचो छ । प्रदेश सरकार आफ्नो निश्चित भूगोल भित्र आफु शसक्त रुपमा देखिन जरुरी छ । आन्तरिक प्रतिश्पर्धात्मक रुपमा प्रदेश तथा स्थानिय सरकारहरुले आफ्नो विकासका रणनितिक योजनाहरु तयार गरी समृद्धिको अभियानमा जनताहरुलाई सहभागी गराउन जरुरी छ । जसको शक्ती उसको भक्ती भन्ने भनाईलाई समाप्त पार्दै आवाजविहिन हरुको आवाज, सहारा विहिनहरुको सहारा, गरिव तथा भोकानाङ्गाहरुको संरक्षकको रुपमा सरकारहरु उभिनुपर्छ तब मात्रै आम जनताले आफ्नो सरकार भनेर बुझ्नेछन् । सरकार भएको अनुभुति गर्नेछन् । तसर्थ, भर्खरै संविधान दिवस मनाएका सरकारहरुले आजैबाट पहिलो महत्वपुर्ण  कार्यका रुपमा किनारामा बसेर आफ्नो संरक्षण, सहभागिता, विकासको ब्यग्र प्रतिक्षा गरिरहेका आवाज विहिन वर्गमा रहेका बालबालिकाहरुको शशक्तीकरणको ठोस कार्यक्रम श्रीगणेश गर्दै विकास र समृद्धिको महान् यात्रालाई अगाडी बढाउन ढिला गर्नु हुन्न ।

0 comments :

Post a Comment

 
Top