समर्पण श्री
एकाएक
सनसनीपूर्ण फैलियो समाचार
मच्चियो  कोलाहाल
भिज्न थाले साराका सारा आँखा
रोकिन थाले हजारौँ पाइला

राजधानीबाट निस्कियो हुरी
र उडाउन लाग्यो फर्फराइरहेको झण्डा

उफ्
मुटु टुक्रिने गरी
स्वास रोकिने गरी
कसैले कानमा साउती मार्यो
देश अपहरणमा पर्यो

खेतमा, डल्ला फोरिरहेका सोमनाथ क्षेत्रीले
जब यो हल्ला सुने
उनको छातीबाट रगत बग्यो
र  अचानक उनी
आफैंले चिरेको डल्लाजस्तो भए

स्कुल हिडिरहेका  मास्टर चिन्तामणि
बीचैमा रोकिएर झोला खोतल्न थाले
र निकालेर सुम्सुम्याउन थाले
देशको मानचित्र

त्यसदिन स्कुलमा न राष्ट्रगान बज्यो
र रास्ट्रगीत नै गाए विद्यार्थीहरूले

हातमा बन्दुक भिरेर
देखिन थाले डरलाग्दा मानिसहरू
गस्ती गर्नथाले घर घरमा
च्यात्ने थाले किताब र डायरीका पत्ता
मेट्न थाले संविधानका अक्षर
भाँच्न थाले कलम
जफत गर्न थाले हँसिया, खुकुरी र बन्चरा

नजरबन्दमा परे पत्रकार, कवि र लेखक
एम्बुसमा परे यात्रामा निस्केका यात्री

साह्रै उदेकलाग्दो र डरलाग्दो क्षण
खुलेर रून पनि वर्जित हुनेगरी
अपहरणकारीले पेस्तोल तेर्स्याएको छ

यतिबेला
जनताले पुकार्न मिल्ने पनि कोही छैन
गुहार्न मिल्ने पनि कोही छैन

किनकि,
जनतालाई नै छल गरेर
सज्जनको भेषमा
अपहरणकारीको हुल सिंहदरबार पसेको थियो

0 comments :

Post a Comment

 
Top