मंसिर–३

विश्वकप फुटबल छनोटको पहिलो ‘होम’ खेलमा नेपाल कुवेतसित पराजित भएको छ । दशरथ रंगशाला तयार नभएपछि घरेलु मैदानका रुपमा मंगलबार भुटानको राजधानी थिम्पुको मैदानमा खेलेको नेपाल १–० ले पराजित भएको हो । 
खेलको २८औं मिनेटमा बादेरले कुवेतका लागि गोल गरेका थिए । त्यसअघि, नेपालले २२औं मिनेटमा गोल गर्ने सुन्दर अवसर खेरफालेको थियो । सुजल श्रेष्ठको ‘क्रस’मा अभिषेक रिजालले ‘डी बक्स’भित्रबाट प्रहार गरेको बल आकाशिएको थियो । कतारमा सन् २०२२ मा आयोजना हुने विश्वकप फुटबलका लागि नेपालले दोस्रो चरणका खेल खेलेको हो । पहिलो चरणमा ‘अवे’ खेल खेलेको नेपालले कुवेतसित ७–० को हार व्यहोरेको थियो । त्यस्तै, अष्ट्रेलियासित ५–० र जोर्डनसित ३–० ले हारेको नेपालले चाइनिज ताइपेइलाई भने २–० ले पराजित गरेको थियो । छनोटको समूह ‘बी’मा नेपालसहित पाँच टोली सहभागी छन् । यो समूहमा खेलेका सबै ४ खेल जितेको अष्ट्रेलिया १२ अंकसहित शीर्ष स्थानमा छ । कुवेत १० अंकसहित दोस्रो स्थानमा पुग्दा तेस्रो स्थानको जोर्डनको ७ अंक छ । नेपालको ५ खेलबाट ३ अंक हुँदा खेलेका सबै चार खेल गुमाएको चाइनिज ताइपेइ पुछारमा छ ।।

0 comments :

Post a Comment

 
Top