कार्तिक–२८, रामधुनी -कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अन्तर्गत शुक्रबार कागको पूजा गरि काग तिहार मनाइएको छ । 

यमराजको दूतको रुपमा लिइने कागलाई काग तिहारको अवसरमा मनपर्ने खाना खान दिने र पूजा गर्ने प्रचलन छ । कागले यमराजसम्म राम्रो सन्देश पुर्याइदिने विश्वासका साथ कागको पूजा गर्ने चलन रहि आएको छ । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भन्ने प्रचलन समेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ । कागलाई दही भात मीठो लाग्ने भएकाले काग तिहारका दिन कागलाई दही भात खुवाएमा यमराज समक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रही आएको छ । यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिकास्थित कागेश्वरी महादेव मन्दिरमा विशेष पूजा आराधना हुने गदर्छ । यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ ।

त्यस्तै यस वर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि नै सुरु भए पनि काग तिहार भने २८ गते परेको हो । यसैगरी धनवन्तरि जयन्ती, धन त्रयोदशी र धनतेरस पर्व पनि शुक्रबार नै परेको छ । तिथि घटबढका कारण यस्तो भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।।


0 comments :

Post a Comment

 
Top