गोविन्द काफ्ले -विश्व अहिले कोभिड १९ विरुद्ध लडिरहेको छ । सम्पूर्ण मानव समुदाय, के युवा–युवती, के बालबालिका, के ज्येष्ठ नागरिक सबैलाई यसले निशाना बनाइरहेको हुँदा नेपालमा समेत कोरोना भाइरसबाट संक्रमित हुने दर र मृत्युको संख्या बढिरहेको छ । संसारभर विशेष रुपमा ज्येष्ठ नागरिकहरु यसबाट बढी संकटमा रहेको तथ्या सार्वजनिक हुँदा नेपालमा युवाहरुको समेत मृत्यु भइरहेको छ । कोरोना भाइरसबाट बच्न सरकारले प्रशस्त जनचेतनामूलक सन्देशहरु जारी गरिरहेको छ । पटक–पटक साबुन–पानीले हात धुने, मास्कको प्रयोग गर्ने, सामाजिक दूरी कायम गरी आफ्ना आवश्यकीय कार्यहरु गर्ने, भीडभाड भएको स्थानमा नजाने, आफ्नो व्यक्तिगत सरसफाईमा ध्यान दिने, पोषणयुक्त खाना खाने, नियमित शारीरिक व्यायाम गर्ने आदिजस्ता विश्वले अवलम्बन गरेका अभ्यासहरुलाई नेपालले पनि प्रयोग गरिरहेकै छ । देशभर लकडाउनदेखि स्थान विशेष लकडाउनको घोषणाबाट भीडभाड व्यवस्थापन गरी संक्रमण नियन्त्रणमा लिने अभ्यास पनि त्यति प्रभावकारी हुन सकिरहेको छैन । 

कोरोनाका कारण एकातिर ठूलो मानवीय क्षति भइरहेको छ भने अर्कोतर्फ विकास निर्माण, उद्योग सञ्चालन, यातायात सुचारु गर्ने कार्यमा प्रतिकूल अवस्था सिर्जना भई समग्र अर्थतन्त्र नै धारासायी हुने अवस्थामा पुगेको छ । इतिहासका विभिन्न कालखण्डमा मानव समुदायले भोगेका विपत्तिहरुमा पनि यस्ता विषम परिस्थितिहरु आएका दृष्टान्तबाट हामीले पनि हिम्मत बढाउनु पर्छ । देशले यथासम्भव कोरोना पीडितको उपचार व्यवस्था गरिरहेको छ । 

उपचार पद्दति र प्रणालीमा कहिँ कमजोरी भए स्वस्थ सुझाव दिनु, कोरोना विरुद्धको लडाईंको अग्रमोर्चामा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत सरसफाईसँग सम्बन्धित योद्धाहरुको मनोबल बढाउनु, कोरोनाबाट बच्न सरकार तथा विभिन्न संघ÷संस्थाहरुबाट जारी गरिएका सचेतनाका व्यवहारहरुको हामी सबैले अवलम्बन गर्नु हाम्रो पहिलो कर्तव्य हो । परिवारमा कोरोनाबाट यदि कोहि संक्रमित भए पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बालबालिका नै बढी प्रभावित हुने गर्दछन् । अझ परिवारका कुनै सदस्यको निधन भएमा त झन् प्रत्यक्ष रुपमा बालबालिकाहरुमै पहिलो असर पर्दछ । समग्र परिस्थितिको मूल्याङ्कन र विभिन्न घटनाहरुको कारण र असर समेत तत्काल छुट्याउन नसक्ने अवस्थामा बालबालिकाहरु रहने हुनाले राज्यबाट मात्र नभई परिवारका बयस्कहरुबाट पनि कोरोनाबाट बच्न र बचाउन बालबालिकाहरुप्रति उच्च सतर्कता बढाउन अति आवश्यक छ । 

0 comments :

Post a Comment

 
Top