मंगसिर–०२, पथरी, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित बोक्रे चोक जाने एउटा सडक छ । राजमार्ग दक्षिण करिब १ किलोमिटर कालोपत्रे भएको यो सडक पथरी र उर्लावारीको सीमानामा पर्छ । बोक्रे चोक जाने यो सडक अचेल सेल्फी रोडका नामले चिनिन थालेको छ । सडकको दायाँबायाँ प्राकृतिक पुर्नउत्पादनबाट हुर्काइएका सालका रुखहरु छन् । रुखहरुमा इनामेल हालेर सेतो रंग पोतिएको छ । त्यतिसारो पारिलो घाम नदेखिने भएकाले सितल पनि छ । करिब १ किलोमिटर लम्बाईको यो सडकमा फोटो र भिडियो खिच्नेहरुको धेरै नै भीड हुन्छ । झापादेखि धनकुटाबाट यो सडकमा फोटो र भिडियो खिच्ने मानिसहरु आउने गर्छन् । पथरीको चौतारी सामुदायिक वन क्षेत्रभित्र पर्ने यो सडकमा फोटो र भिडियो खिच्नकै लागि भनेर दैनिक ४ देखि ५ हजारको संख्यामा मानिसहरु आउने गरेको वनका अध्यक्ष मेघराज चापागाईं बताउँछन् । यो सडक सामान्य हो, दक्षिण बोक्रे चोक जाने सडक हो चापागाईंले भने, हाइवेसँगै जोडिएको सडक भएर होला मानिसहरु आउने, फोटो खिच्ने र भिडियो बनाउँदै हालेपछि प्रचार भएछ । नेपालमा कोरोना कहर सुरु हुन थालेपछि सरकारले चैतमा देशव्यापी लकडाउनको घोषणा गरेको थियो । कोरोना संक्रमणको भयले घरमै बस्नुपर्ने बाध्यता आयो । पर्यटकीय स्थलहरु बन्द भए । यही क्रममा पूर्व पश्चिम राजमार्गमा हिँड्ने मानिसहरु यो सडकमा केही बेर बस्ने,फोटो खिच्ने तथा भिडियो बनाउने क्रम बढ्यो । स्थानीयहरु पनि यो सडकमा आएर तस्बिर र भिडियोहरु सामाजिक सञ्जालमा अपलोड गर्न थालेपछि यसको प्रचारप्रसार भएको चापागाईंले सुनाए ।

टिकटकमा २ लाख फलोअर्स भएका पथरीका कलाकार प्रविन कोइरालाले पनि टिकटकमा भिडियो बनाउन यही स्थान रोजे । उनले यही सडकमा हालसम्म ६० भन्दा बढी टिकटकका भिडियो बनाएका छन् । लकडाउनको बेला अन्यत्र जान टाढा हुने भएकाले यही सडकमा भिडियो बनाउन थालियो,ुकोइरालाले भने, जंगलको बीचमा कालोपत्रे सडक भएकाले शितल पनि हुने, ठाउँ पनि शान्त भएकाले धेरैले टिकटक भिडियो बनाएर हाल्न थाले । रोडको त्यतिकै प्रचारप्रसार भयो । धेरैले यो सडकमा टिकटक बनाउने गरेको भएपनि बोक्रे चोकका स्थानीयहरु यहाँ आएर सेल्फी खिच्ने भएकाले यो सडकको नाम स्थानीयले नै सेल्फि रोड राखिदिएको चापगाईंले बताए । हाल यो सडकमा दर्जनौं गीतहरुको छायांकन भइसकेको छ । सडकमै दर्जनौं आइसक्रिम तथा चटपटेका ठेलाहरु छन् । दैनिक रुपमा एउटै ठेलाले ५ हजारसम्म व्यापार गर्ने व्यवसायी राजकुमार मण्डलले सुनाए । सेल्फी रोड आएर फोटो र भिडियो खिच्नेकहरुका लागि भनेर सेल्फि रोड लेखिएको टिसर्ट पनि मण्डलले बिक्री गरिरहेका छन् । बिहानैदेखि साँझसम्म यो सडकमा भीड हुने गरेको उनले सुनाए ।


मानिसहरुको अत्याधिक उपस्थिति बढेसँगै सेल्फी रोडमा प्रदुषण भने बढेको छ । सामुदायिक वनले फोहोर मैला विसर्जनका लागि सडक छेउमा कन्टेनर राखिदिएपनि आगन्तुकहरुले जथाभावी फोहोर फ्याँकिदिने गरेका छन् । हाल सामुदायिक वनले  पर्यटन क्षेत्रको रुपमा उक्त सडकलाई विकासित गर्ने योजना अघि सारेको छ ।

0 comments :

Post a Comment

 
Top