–महेश प्रसाद गुरागाई
आज जेष्ठ २४ गते मेरो जीवनकै सबैभन्दा महत्वपूर्ण व्यक्तित्व मध्ये एक व्यक्तित्व मेरो पुजनीय बुवाको जन्म दिन । यदि बुवा हामीसंग हुनुभको भए गते हामी बुवाको ८२औँ जन्म दिन मनाउने तयारी गरिरहका हुनेथियौ । एउटा उल्लास अनि अनगिन्ति खुशीका साथ ।
मानिसको जिन्दगी साच्चै बहुत अजिवको हुँदो रहेछ । जिन्दगी पूर्णतयः बक्ररेखामा मात्रै दौडदो रहेछ । कल्पनाको संसार जस्तो कहाँ सजिलो रहेछ र जिन्दगी ?
आज यो घडिमा उभ्भीएर पुनः एकपटक बिगतलाई हेर्न मन लागेको छ । जहाँ मेरा अति आदरर्णीय , अति पुजनीय अनि मेरा जिन्दगीको सबथोक मेरा बुवा आमासँग बिताएका हरेक पल मेरो मानसपटलमा दौडिरहेको छ ।
सम्झदै कस्तो आनन्द फिल हुन्छ बुवा आमाको अतुलनीय मीठो साथ । अनि त्यो ममता अनि त्यो अभिभावकत्व ! सम्झदै जाँदा मनदेखि निस्किने अद्भुत मीठास अनि आनन्दमय कल्पना कै वीचमा मुटु छिया छिया हुनेगरी नमीठो स्मृति मडारिन आइपुग्छ अनि यहि नै अहिलेको जीवनको कटु सत्य भएर बसेको छ ।
मैले जुन दिन देखि यो समाज अनि यहाको परिवेशलाई बुझ्न थाले त्यो दिनदेखि बुवा आमाले पूर्णतः आफ्नो व्यवहार सम्हालुन्जेल सम्म एउटा सान, एउटा रबाफ र एउटा इज्जतमा मात्रै जीवन जिएको देखेँे । भलै जब जब व्यवहारको बागडोर हामी छोराहरुको हातमा सुम्पदै जानुभयो तबदेखि सायद बुवा आमाको त्यो इज्जत त्यो शान अनि शुखसयल हामीले दिन सकिनौं कि जस्तो लाग्छ ।
आज पुजनीय बुवाको जन्म दिन भएकोले आज म मेरा यिनै केहि शब्दहरु मार्फत बुवासँग जोडिन खोजिरहेको छु । बुवा शब्दै काफी छ – परिवारको एउटा अहम जिम्मेवारी । हामी ४ सन्तानलाई शिक्षा–दीक्षा देखि सुखसाथ हुर्काउन बुवाले गर्नुभएको दःुख, मेहनत सायद हामीले आंकलन समेत पनि गर्न सक्दैनौँ होला । एकातर्फ पारिवारीक दायित्व अर्को तर्फ सामाजिक जिम्मेवारी । सायद बुवाले यी दुवै कुरालाई सन्तुलन नै गर्नु भयो होला र त मैले थाहा पाउँदा सम्म हामीले कहिले बुवासँगका बाल्यकालका अनुभूति लिनबाट बन्चित हुनु परेन ।
त्यो पंचायत शासनताका जनपक्षीय उमेद्वारको रुपमा दुई÷दुई पल्ट प्रधानापंच निर्वाचित भएर जनताको सेवामा समर्पित रहनु भएको हाम्रो बुवाले सायद समाजसेवा भन्दा अरु केहि सोच्नु भएन । त्यो पहाडी जिल्ला भोजपुरको जनसंख्यामा जिल्लाकै दोश्रो ठूलो तत्कालिन दुम्माना गाउँपञ्चायतको प्रधानपञ्च हुँदा पनि शिक्षा,स्वास्थ्य, खानेपानी ,भौतिक पूर्वाधार निर्माण जस्ता विकास निर्माणका काममा मात्रै आफुलाई दिनरात समर्पित गर्दै आफ्ना जनताका जीवनस्तर उकास्न मात्रै केन्द्रीकृत भएको समझदा आज पनि गर्वको अनुभूति हुन्छ ।
तत्कालीन समयलाई हेर्ने हो भने गाउँ÷नगर पञ्चायतको प्रधानपञ्च भनेको त्यो ठाउँको राजा जस्तै हुन्थ्यो । प्रधानापञ्चको अगाडि शीर ठाढो पारेर बोल्न समेत नपाइने त्यो समयमा त्यहाँका जनताले बुवा प्रधानापंच हुन्जेल कहिले त्यस्तो महसुस गर्नु परेन ।
राणाशासनताकादेखि नै जिम्मुवाल रहँदै आएको हाम्रो परिवारमा एउटा सामान्य नागरिक भन्दा कुनै फरक रबैया थिएन । त्यहि सादा जीवन र सामाजिक उत्तरदायीत्व बहन गर्न हाम्रो सानै उमेरदेखि बुवाले हामीलाई पनि दीक्षित गराउनुभयो ।
भारतको बनारसमा शिक्षा लिन गएदेखि नै कम्युनिष्ट बनेर अउनुभएको बुवाले पार्टीको विश्वासलाई सदैव कायम राख्नुभयो । जिल्लामा २०४६÷४७ को जनान्दोलनको सफल नेतृत्व दिनुभयो । पार्टीले उहाँँको योगदानको मुल्यांकन गर्दै उचित जिम्मेवारेका साथ सम्मान ग¥यो .
हामी सानै थियौँ आमालाई हामीलाई हुर्काउदै घर व्यबहार, खेतीपाती सम्हाल्न निक्कै मुश्किल परिराथ्यो । घरमा काम गर्ने प्रशस्त मान्छेहरु राखिएता पनि घरको मुख्य अभिभावकले छोरा छोरी सहित सबैलाई समय दिनु पर्छ भन्ने आमाको चाहाना पक्कै नराम्रो थिएन । फलतः बुवाले आफ्नो राजनीतिक जीवनमा आएको ठूलो अवसरलाई पनि सजिलै छाड्दिनु भएको अझै मलाई झल्झली याद छ । अनावश्यक लोभ र महत्वकांक्षाले मानिसलाई गलत बाटो लान्छ भन्ने बुवाको सोच मेरो जीवनको पनि एउटा सुत्र बनेर बसेको छ ।
चाहे पंचायती व्यवस्थामा होस् या जनआन्दोलनले ल्यायको परिवर्तनकालीन व्यवस्था बहुदलमा होस् जिल्लामा बुवाको प्रभाव र प्रतिष्ठा जहिले एक निडर, हक्की र जनमुखी नेताको रुपमै उच्च थियो । आफ्नो ठाउँमा मात्रै हैन तत्कालीन छिमकी पंचायत ÷ गा. बि.स. मा कुनै समस्या प¥यो भने बुवाकै खोजि हुन्थ्यो । कुनै बिकास निर्माण या कुनै योजना ल्याउनु प¥यो बुवाकै आवश्यकता पथ्र्याे । बुवा सबै वीच लोकप्रिय हुनुहुन्थ्यो ।
कालान्तरमा बुवाको राजनीतिक आस्था पनि बद्लियो । सायद त्यो बाध्यात्मक कदम थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ तथा मुख्य नेतृत्वले गरेको बारम्बारको प्रयास अनि यता एमाले पार्टीको जिल्ला भित्र बढ्दै गएको जातिय राजनीतिले बुवालाई सायद राप्रापा प्रवेशको बाटो खोलको थियो तर बुवाको अन्तिम समय सम्म पनि एमाले प्रतिको माया सदैव झल्किरहन्थ्यो जुन नजिकबाट मैले महसुस गरेको छु ।
समयले दिनप्रतिदिन कोल्टे फेर्दै गयो देशमा जनयुद्धको शुरुवात र बिस्तारसँगै गाउँ गाउँमा अन्य राजनीतिक दलको उपस्थिति कम हुँदै गयो ।. समयको प्रवाहसँगै मेरो संलग्नता माओबादी राजनीति संग हुन पुग्यो । माओबादी पार्टीको जिम्मेवार निकायमा रही जिम्मेवारी सम्हाली रहेकाले बुवालाई सक्रिय राजनीतिलाई कम गर्न मैले सहमत गराए । सायद बुवाको लागि त्यो त्यति सहज थिएन तर पनि सायद छोराको खुशीको लागि बुवाले स्विकार्नुभाको थियो । त्यसपछिको बाकि जीवन विभिन्न सामाजिक संघ संस्थामा आवद्ध रही समाजको लागि समर्पित गर्नुभयो । विशेषतः प्लान इन्टरनेशनलसंगको लामो समय सम्मको सहकार्यमा दुम्माना क्षेत्रमा विकासको कायपलट नै गराउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो ।
जतिखेर माओबादीको दबदबा थियो मानिसहरु बोल्न समेत डराउँथे त्यो समयमा बुवा सामाजिक काममा ब्यस्त हुनुहुन्थ्यो अनि माओबादी आन्दोलनका नकारात्मक कार्यको खुलेर विरोध गर्नु हुन्थ्यो । बुवाको हक्की तथा निडर स्वभावले कहिलेकाही हामी परिवारका मान्छेलाई पनि चिन्ता बनाउथ्यो तर बुवा गलतको विरुद्ध बोल्न कहिले डराउनुभएन ।
माओबादी आन्दोलन जति उत्कर्ष तर्फ जाँदै थियो त्यति त्यति पार्टी भित्र अन्तरविरोध बढ्न थालेको थियो । माओबादी आन्दोलन भित्र अवसरवादी र अराजक्तावादीहरुको ठूलै बोलवाला बढ्न थालेको थियो । त्यहि क्रममा म लगायत ठूलो समूहले पार्टी भित्र वैचारिक संघर्ष सुरु ग¥यौं तर हामीले चाहे जस्तो हुन सकिरहको थिएन । अन्ततः एउटा ठूलो समूहको धरानमा भएको भेलाले माओबादी पार्टीबाट अलग हुँदै नयाँ पार्टी गठन गर्दै माओबादी आन्दोलनलाई निरन्तरता दिने निर्णय गर्यौं । तत्कालिन जनसत्ता र जनसेनालाई भने स्वीकार्दै पार्टीबाट अलग भएको घोषणा गर्यौं । माओबादी पार्टीले कुनै आक्षेप लाउन नसकोस भनेर तत्कालिन माओबादी पार्टीमा जिम्मेवारी सम्हाल्दा भएका नगद लगायतका आर्थिक कारोबार माओबादीलाई नै अनिवार्य हरहिसाब मिलान गर्न निर्देश गर्दै कार्य एकताका लागि माओबादी नेतृत्वसँग छलफल बढाइयो ।
जुन बेला माओबादी नेतृत्वसँग हाम्रो कुराकानी चलिरहेको थियो ठिक त्यहि बेला माओबादीका स्थानीय एरिया कमिटिले केहि अराजक, भ्रस्ट र जड्याहाहरुको उक्साहटमा बुवालाई अपहरण गरी निर्मम यातना दिएछन । कुनै अभियोग लगाउने आधार नभेटेपछि अन्सन्ट आरोप लगाउँदै बुवामाथि सांघातिक हमला गरेछन । बुवाको अपहरण भएको खबर फैलिएसँगै स्थानीयहरुले माओबादीको प्रतिरोध गर्ने तयारी गरेको चालपाएपछि हतार हतार सार्वजनिक बद्नामी गराई छाडेर भागेछन ।
माओबादीको उक्त हमलामा बुवाको कानको जाली फुटेछ साथै कुट्पिटले बुवा गम्भीर घाइते हुनुभएछ । अपहरण मुक्त भएको भोलिपल्टै उपचारका लागि बुवालाई धरान ल्याइयो । बुवा माथि हमला हँुदाताका पहाडको घरमा बुवा र आमा मात्रै बस्नुहुन्थ्यो । त्यो अकल्पनीय पिडाले लपेटिएर बुवा आमा उपचारका लागि धरान आइपुग्नुभयो । त्यसताका म धरानमै थिएँ तर मलाई सम्पर्क गर्न बुवा आमालाई सहज थिएन । मेरो सम्पर्क श्रोत उहाँहरुसँग थिएन । पछि केहिदिनमा सम्पर्क भयो । घट्ना सुनेर म जिन्दगीमै सबैभन्दा धेरै दःुखि भएको थिएँ । मेरो नेतृत्वमा माओबादीबाट भएको बिद्रोहले स्थानीय जिल्लाका केहि नेतृत्व मप्रति प्रतिशोध साँध्ने तयारीमा जुटिरहेको थियो । यता माथिल्लो नेतृत्व हामीसँग निरन्तर सम्बादमा थियो । यो बुवा माथिको बर्बर घट्नालाई उनीहरुले पार्टी निर्णय बिपरित भएकाले संलग्नलाई कारवाही गर्छौं भनेर हामीलाई आश्वस्त तुल्याउन खोजिरहेको थियो तर जे नहुनु पर्ने थियो त्यो त भैसक्या थियो । यो हात्साहाले बुवालाई भित्र भित्रै जलाउन थाल्यो मलाइ यसले झन् ठूलो पिडा दिरहेको थियो । यो घटनालाई हामीले मिडियाबाजि गर्न चाहेनौँ तर केहि राष्ट्रिय मिडियाका पत्रकार मित्रहरु सहित अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका जिम्मेवार अधिकारीले समेत यो मुद्दालाई अगाडि बढाउन सुझाव दिनुभको थियो तथापि पनि हामीले यो घटनालाई अगाडि बढाउन चाहेनौँ ।
यो घट्ना पश्चात बुवा आमाले पहाड छाड्ने निर्णय लिनु भयो । यस अघि कयौं अवस्थाका वीचमा पनि पहाड नछाड्ने निर्णय लिएर बुवा आमा दुई जना मात्रै भएपनि उतै बस्दै आउनुभएको उहाँहरु अव नफर्कने निर्णयमा पुग्नु भयो । यो निर्णय लिन सायद जति बुवालाई गारो भएको थियो होला त्यत्ति नै त्यो दुम्मानाको लागि पनि क्षति नै थियो ।
इनरुवाको बसाइ पश्चात बुवाले राजनीति,समाजसेवा सबै छाड्नुभयो । एकप्रकारको रिटायर्ड लाइफ जस्तो । राजनैतिक नेतृत्व बुवालाई अवफेरि राजनीतिमा ल्याउन चाहान्थ्यो तर बुवाको स्वास्थ्य तथा उमेरको कारण हामीले सक्रिय राजनीतिमा पुनः नफर्कन आग्रह ग¥यौँ । सायद हाम्रो आग्रह सहि लाग्यो होला बुवालाई पनि उहाँले त्यसपछी सक्रिय राजनीतिलाई चटक्कै छाड्दिनु भयो ।
बुवाको इनरुवा बसाई एउटा अति सामान्य मान्छेको जीवन जस्तै भयो । त्यति हक्की निडर अनि सक्रिय मान्छे अहिले आएर एकदम सोझो सामान्य र निरिह झैँ जीवन बित्यो । सदैव २०÷३० जना मान्छे बुवाको अघिपछि लागेर हिड्थे । सानादेखि ठूला ठूला समस्या बोकेर बुवासँग समाधान खोज्दै आउँथे तर यहाँ त बुवाको दिनचार्य केवल घर र आफ्नो टोल भन्दा बाहिरको थिएन ।
आफ्नो मिहिनेत र कमाइले सुखसयलसँग जिउँदै आउनुभएको बुवा अव पूर्णतयः छोराहरुमा निर्भर हुनु भएको थियो । मैल सुरुमा पनि भने हामीले बुवालाई बुवाको आफ्नो समयको जस्तो न त सुखसयल दिन सक्यौं न त त्यो बेलाको जस्तो टाँठ्बाट नै कायम राख्न सक्यौं । अव त एउटा अति सामान्य जीवन मात्रै रह्यो ।
बुवा आमालाई पछिल्लो समय पनि पहाड गएर आफ्नो ठाउँ हेर्ने पछिल्ला भएका परिवर्तनलाई नजिकबाट नियाल्ने कत्ति ठूलो चाहाना थियो तर त्यो सबै इच्छा मात्रै रह्यो । उहाँहरुको जीवनको अन्त्यसंगै त्यो इच्छा पनि सकिएर गयो ।
पछिल्ला वर्षहरुमा बुवा धेरै रोगबाट पिडित हुनुभयो । दबाइको भरमा जीवन अडिएको थियो भन्दा अनुपयुक्त नहोला । तसर्थ मनमा लागेका ठाउँमा बुवाले गैहाल्ने अवस्था पनि थिएन । मनले सोचेका सबै कुरा खान पनि स्वास्थ्यले दिदैन थियो ।
बुवाबाट हामीले जीवनमा धेरै कुरा सिकेका छौं । हाम्रो खुशीको लागि कति आपÞm्ना इच्छा त्याग्नु भयो कति आफ्ना खुशी छाड्नुभयो त्यसको कुनै लेखाजोखा छैन । हाम्रो एउटा आदर्श हुनुहुन्थ्यो बुवा । बुवाको पदचापलाई पच्छ्याउन अवश्य कोशिस गर्नेछौं ।
आमाको अचानक अकल्पनीय निधनसँगै बुवा पुरै क्षत विक्षत हुनु भयो । बुवाको त्यो थामिनसक्नुको पिडा मैले जति सायद कसैले अनुभूति गरेको होला । आफ्नो जीवनभर कहिले पनि आमा र बुवा एकछिन पनि छुट्टिएर हिँड्नु भएन । जहाँ जाँदा पनि सँगसँगै जानु हुन्थ्यो । आमा बुवा वीच असाध्यै प्रेम थियो । सायद त्यहि भएरै होला आमाको वियोगलाई बुवाले सहन गर्न सक्नु भएन । आमाको निधन पछि घरभन्दा बाहिर कतै निस्कनै चाहनु भएन । जतिबेला पनि बुवाको आँखामा आँशु छचल्किरहेको देखिन्थ्यो । आमाको कमि कुनै केहि गरेर पनि पूरा हुने अवस्था पनि थिएन । त्यहिपनि जसोतसो बुवालाई सामान्य बनाउन हामी कोशिस गरिरहका थियौं । बिस्तारै बुवा आफ्नो सामान्य जीवनमा फर्कन कोसिस गर्दै हुनुहुन्थ्यो । त्यहीबेला बुवालाई पेटको समस्या देखाप¥यो । यस अघि पनि यस्ता समस्या देखिने र निको हुने गथ्र्याे । इनारुवामै उपचारको कोशिश ग¥यौँ । तर ३÷४ दिन सम्म पनि केहि सुधार नभएपछि डाक्टरको सल्लाहामा नोवेल अस्पताल बिराटनगरमा साउन ३१ गते भर्ना ग¥यौँ । बुवाले घरबाट निस्कने बेलामा भर्ना हुनुपर्ला भनेर सोच्नु भएको थिएन । तर के थाहा त्यहि दिनको यात्रा बुवाको जीवनकै अन्तिम यात्रा रहेछ भन्ने ?
एम्बुलेन्सबाट अस्पताल जाँदा बाटामा सुत्नु न बुवा भन्दा हैन बाहिर हेर्छु भनेर बसेरै बाहिरका दृश्यलाई नियाल्दै जानुभयो । आखिर जीवनकै त्यो अन्तिम बाहिरी संसारको हेराइ रहेछ । अस्पताल भर्ना पछि पनि लगातार ९ दिन सम्म बिना अप्रेशन निको पार्न सकिन्छ कि भनेर डाक्टरहरुले कोशिश गर्नुभयो । तर सबै प्रयास विफल हँुदै गए । त्यो अस्पताल बसाईमा बुवाले अति धेरै पिडा खप्नु भयो । त्यतिखेरका कुरा सम्झदा अझै पनि आँशु झर्छ , मन भक्कानिएर आउँछ । बुवाले अस्पताल बसाइका अन्तिम समयहरुमा अव बाच्न सकिन्न भन्ने सायद महसुस गर्न थालिसक्नुभएको थियो । त्यसैले अव घर लैजाओ यहाँ अव पार लाग्दैन , घर गएर धार्मिक कर्म गरौँ भनिरहनु भयो तर भर्खर आमा गुमाएका हामीहरु जसरिभएपनि बुवालाई बचाउन जोड गरिरहेका थियौँ । डाक्टरले आशा देखाइरहेका थिए । अवस्था झन् जटिल बनेर आ.इ सी.यू. मा सारिएको थियो । बुवाको जिउ सुनिदै जान थालेको थियो । दिशा पास नभएर पेट ड्याम्म फुलेको थियो । कुनै दिन कोहि पालो दिन आएर म फ्रेस हुन घर जानु पर्दा पनि बुवा तँ कतै नजा न तँ नहुदा सुन्य लाग्छ भनिरनु हुन्थ्यो । सकेसम्म अस्पतालमा मैले बुवालाई नछोडी नै बसेँ ।
डाक्टरले कुनै पनि बेला अपरेशन गर्नु पर्ने हुन सक्छ भनेर बुवालाई ४÷५ दिन अगाडिदेखि नै खान खान तथा पानी पिउन दिन बन्द गराइदिए । यो नै बुवाको जीवनको सबभन्दा पीडादायक बन्यो । मुख सुकेर प्याक प्याक भएर पानी देओ न भन्दा पनि पानी पिउन दिन नसक्ने विवस भएर बस्नुको पिडा हामीलाई कतिभयो सम्झदा पनि मन आत्तिन्छ ।
बुवाको अवस्था जब जटिल भयो अनि डाक्टरले अपरेशन गर्ने निर्णय लिए । उमेरका कारण ५०÷५०% चान्स हुने बताउन थाले । पिडा हेरेर बस्न सकिन्न थियो अपरेशनको तयारी गरियो । अपरेशन भयो राति हल्का होस् आयो । बुवा भनेर बोलाउँदा बोल्नु भयो । मन खुशी भयो तर त्यो खुशी धेरै बेर टिक्न सकेन । बिहानदेखि बुवालाई जरो आयो अवस्था बिग्रन थाल्यो । आइ.सी.यू.मा रहेका डाक्टरलाई सम्बन्धित् डाक्टर बोलाइदिन आग्रह ग¥यौँ तर कहिँ न कहिँ समयमा बेवास्ता गरियो । बुवाको अवस्था बिग्रदै गयो । अव बोलि पनि बन्द भैसकेको थियो । डाक्टरले भेण्टिलेटरमा राख्न भन्न थाले । अवस्था अन्तिम थियो । बाँच्ने संभावना अत्यन्त्यै कम भएपछि हामीले डाक्टरलाई घर पुगेर धार्मिक कर्म गर्न सकिने सम्म सास कम्तिमा रहने व्यवस्था गर्दिन आग्रह गर्यौं । अप्रेसन गर्ने डाक्टरले एकचोटी भेण्टिलेटरमा राखौँ अझै चान्स छ भनेपछि पुन सल्लाह गरेर कम्तिमा दिउँसो १ बजे सम्म राख्न निर्णय गर्यौं र त्यसबेला सम्म सुधार नभए घर लैजाने तयारी पनि गर्न थाल्यौं । तर दैवले जे चाहेका छन् त्यहि हुँदो रैछ २०७६ सालको भदौ ८ गते आइतवार बिहान लगभग ९ बजेतिर हामी सबैलाई सधैंको लागि छाडेर बुवा पनि यो संसारबाट बिदा हुनुभयो ।
आमालाई गुमाएको ६३औ दिनमा हामीले हाम्रो पुजनीय पितालाई पनि सधैंको लागि गुमायौं । असार ९ गते आमाले छाडेर जानुभयो लगत्तै २ महिनाको अन्तरालमा भदौ ८ गते बुवाले पनि हामीलाई अभिभावकविहीन बनाएर जानुभयो । आमाको अभावलाई कम्तिमा बुवा त हुनुहुन्छ नि भनेर चित्त बुझाइरहेको हाम्रो चित्त बुझाउन कुनै ठाउँ नै बाकि रहेन । दैवले हामीलाई असह्य पिडा दिँदै हामीबाट हाम्रा आदर्श ,हाम्रो सम्पूर्ण संसार खोसेर लग्यो । एउटा जल्दोबल्दो व्यक्तित्व केवल आफन्तको वीचमा मात्रै झन्डै झन्डै गुमनामझैं मृत्यु भयो । समय कति बिचित्रको रहेछ ।
बुवाको त्यो हात समाउदै बामे सरेदेखि जिन्दगीलाई बुझ्दा सम्म सम्पूर्ण आदर्श ,दर्शन अनि जीवनको महाविद्यालयको समाप्तिले जीवनलाई पिडा र साहारा विहिन भन्दा अरु केहि बनाउन सकेन । गत वर्ष आजको दिन बुवाको जन्म दिन धुमधामले मनाएका थियौं । गत वर्ष कति खुशीका साथ बुवाले केक काट्नु भएको थियो तर आज बुवालाई सम्झनु बाहेक अरु केहि गर्न सकिएन ।
यो दुनियाबाट भगवानको दुनियामा जानुभएको छ । हामीलाई पूर्णतः बिश्वास छ आमा बुवा तपाईहरु दुवै जना पक्कै सँगै नै हुनुहुन्छ होला । भगवानलाई राखेर आज हजुरको जन्म दिन मनाउनु है बुवा । हजुरको जन्म दिनमा अरु त के नै भन्न सक्छु भगवानले हजुरहरुको आत्मालाई सदैव शान्ति दिनुहोस् , भगवानको साथ सदैव रहिरहोस् अनि हामीहरुलाई हजुरहरुको सदैव आशीर्वाद !
0 comments :
Post a Comment