भदौ–२९ -बालबालिकाहरूको नाममा मनाइने दिवसलाई बाल दिवस भनिन्छ। यो दिवस भदौ महिनाको २९ गते मनार्इन्छ। वि.स.२०६३ साल भन्दा अघि बाल दिवस भाद्र ४ गते मनाईने गरिन्थ्यो भने हाल भाद्र २९ मा मनाईन्छ।नेपालले संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो । त्यस यता हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसका रूपमा मनाइँदै आइएको छ ।बालअधिकारको प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु गरी मनाईछ । बालबालिका भविष्यका कर्णधार र बर्तमानका साझेदार समेत हुन भन्ने अवधारणाको साथमा बालबालिकाहरुको अधिकारलाई स्थापित गर्नका लागि त्यस क्षेत्रमा कार्यरत संघसंस्थाहरुले वकालत गर्दै आएका छन् ।नेपालमा बालबालिकाको क्षेत्रमा बाल अधिकारसम्बन्धी महासन्धि, १९८९ अनुमोदन भएपछि थुप्रै कानुनी तथा नीतिगत प्रयासहरू भएका छन् । बालअधिकारका चार आयामहरू बालबचाउ, बालसंरक्षण, बालविकास र बालसहभागितालाई प्रवद्र्धन गर्नका लागि स्थानीयदेखी राष्ट्रियस्तरका कार्यक्रमहरु समेत बनेर कार्यान्वयनको चरणमा छन् । राष्ट्रिय बालदिवस मनाउनुको एउटा सकारात्मक पक्ष त देखा परेको छ तर मूल कुरा बाल दिवस कुन दिन मनाइन्छ भन्ने मात्र होइन । यस्ता दिवसहरूलाई वास्तविक रूपमा तमाम बालबालिकाको प्रत्याभूत गराउन सकिएन भने खासै अन्तर हुने छैन विगत र वर्तमानको बालदिवसमा ।
बालदिवस कस्तो हुनुपर्दछ त वा भनौं बालदिवस कसरी मनाउनुपर्दछ त यो आम रूपमा उठिरहेको विषय हो । तर पनि हामीले बालदिवसलाई औपचारिकतामा मात्रै सीमित गरिरहेका छौं कि खासगरी बालबालिकाको निम्ति चाहिने आधारभूत हक अधिकार वा उनीहरूको संरक्षणको सवालमा हामीले कति उपलब्धी हासिल गर्न सक्यौं वा सकेनौं । त्यस्ता पक्षले पनि राष्ट्रिय बालदिवसको सार्थकतालाई मापन गर्न सकिन्छ । झण्डै आधाआधी जनसंख्या ओगटेका बालबालिकालाई मान्यता दिएर बालबालिकाकै दिवसका रूपमा सम्पन्न गर्न खोज्नु राम्रो पक्ष हो । नयाँ नेपालको दृष्टिकोणकमा त्यसलाई पुनर्परिभाषित गरिनुपर्दछ । व्यापक बहसको जरुरी छ । नयाँ दृष्टिकोण अपनाएर बालदिवस मनाउनुको सार्थकतालाई बुझाउन सक्नुपर्दछ । त्यसको साथै बालअधिकारको विषयमा के कस्ता राम्रा काम गर्यौं कति उपलब्धी प्राप्त गर्यौं कति चुनौतीहरू आए प्रतिबद्धता पूरा भए कि भएनन् जस्ता कुराहरूको समीक्षा हुनु पनि जरुरी छ । अहिलेको सन्दर्भमा बालसहभागिताको कुरा गरिराखेको छौं । ती कुराहरू सहज र सरल भाषामा उनीहरूबीच अन्तरक्रिया गर्ने काम गर्नुपर्दछ । बाल सहभागिताकै दृष्टिकोणबाट कुरा गर्ने हो भने त्यस्ता कार्यक्रम तर्जुमा गर्दा उनीहरूको साथमा बसेर कार्यक्रमको उद्देश्य के हो प्रक्रिया के हो र उनीहरूलाई त्यो त्यसमा कसरी समावेश गर्ने भन्ने सोच्नु अनिवार्य रहेको छ । जबसम्म हामीभित्रको सोचमा परिवर्तन हुन सक्दैन यसको सार्थकता त्यति हुन सक्दैन । यसका लागि केन्द्र देखी स्थानीय तह सम्मका यस क्षेत्रमा क्रियाशिल बालअधिकारकर्मी गैरसरकारी संस्थाहरू सरकारका विभिन्न निकायहरू मन्त्रालय, बाल अधिकार परिषद् लगायतका निकायहरू बीचमा पनि यसको सैद्धान्तिक पक्षका बारेमा छलफल हुनु जरुरी छ । अबको जिम्मेवारी स्थानीय सरकारको हो । आजसम्मको अवस्था जस्तो थियो चल्यो तर अब धेरै सुधार गर्नु पर्ने अवस्था छ । शिक्षा र स्वास्थ्य बालबालिकाका लागि अपरिहार्य कुरा हुन् । सहज पहुंच गराईदिनु पर्छ ।
शहर र तराईमा जति बालबालिकाले आफ्ना अधिकार प्रत्याभुत गर्न पाएका छन् त्यसको तुलनामा बिकटका जिल्लाका बालबालिकाले त्यो अबसर पाएका छैनन् । जसको कारण हो भौगोलिक बिकटता अनि अत्याधिक गरिबी तथा अशिक्षा प्रमुख हुन् । जसका कारण न त राज्यले दिएको सुबिधाका बिषयमा जानकार छन् न त उनिहरुका अधिकारका बिषयमा नै जानकार छन् । गरिबीले घरमा एकछाक पेटभर खान नपाउने एउटा टालो लाउन नपुगेका बालबालिका मनग्गे हृदयबिदारक कथा छन् । अनि तिनै कथा ब्यथा बोकेर भारतको शिमलासम्म पुगेर खच्चर र घोडामा यात्री ओसार्दै एक निबाला जोहो गर्न बाध्य छन् । आज पनि यी बालबालिकाका कथामा केही परिवर्तन आएको छैन । कारण हो, सरकारी तथा गैर सरकारी संस्थाहरुको कमण्डलु भांचिने डर । आज संघीय सरकारको शासन शुरु हुँदा पनि सरकार ती बालबालिका सम्म पुग्न नसक्ने किन त ? अनि गाउँघरमा गरिबीका कारण शिक्षा र स्वास्थ्यबाट बन्चित बालबालिकाका लागि स्थानीय निकायले कस्ता योजना ल्याउनु पर्ने हो ल्याईयो कि ल्याईएन छलफलको बिषय हो ।
पहाडी जिल्लाका ती गरिब बालबालिका आज पनि ईट्टाभट्ठा, यातायातका साधन, होटल रेष्टुरेन्ट, ग्यारेज, फर्निचर उद्योगमा श्रम बेच्न बाध्य छन् तर स्थानीय सरकार काम गर्दै छौं भन्छन् बजेट बिनियोजन गर्छन् अनि बजेट कहाँ जान्छ थाहा छैन ।
बर्षेनी बालदिवस मनाउने बालबालिकाका अधिकारका बिषयमा यस बर्ष पनि भब्य कार्यक्रम होलान्, गैर सरकारी संस्थहरुले यो अवस्थामा भर्चुअल कार्यक्रम पनि राख्लान् र केही मन्त्री वा केही गैर सरकारी संस्थाका अभियन्ता भन्नेहरुलेहरुले दुईचारको अभिभावकत्व पनि ग्रहण गर्नुहोला । तर ती गरिब बालमजदुरको अवस्था उस्तै रहने त होला । हरेक वर्ष उत्कृष्ट नाराहरु प्रचार गरिन्छन् तर जो पछाडि छन् जसलाई आवश्यकता छ बाल अधिकारको , उनीहरु आजको दिनमा के कार्यक्रममा होलान् ? लाखौं खर्च गरेर औपचारिक कार्यक्रम गर्ने अभियन्ताहरुले यो कत्तिको विचार गर्नुभएको छ ? होईन भने फेरी यसलाई परियोजना बनाएर दाता खोज्ने विचारमा हुनुन्छ ? अनि दाताबाट परियोजना रोकिए के गर्नुहुन्छ ?
जस्ता कुरा मनमनै आईरहन्छ । त्यसैले देशको वास्तविक समस्या पहिचान गरि नारालाई कार्यान्वयन गरी देशमा सबल नागरिक तयार गर्ने वातावरण सृजना गरि बालदिवसलाई सार्थकता दिलाउन पहल होस् । सबैमा शुभकामना Krishnuna Media
0 comments :
Post a Comment