भदौ-२५, सुनसरी थारु समुदायका महिलाको मुख्य चाड हो जितिया । आज जितियाको दोस्रो दिन अर्थात् मुख्य दिन । निकै रमझमका साथ मनाइने यो पर्वमा यस वर्ष खासै उल्लास छैन । कोरोनाको प्रकोपका कारण थारु महिलाहरु घरमै बसेर जितिया मनाइरहेका छन् । सामूहिकरुपमा झाम्टा नाँच नाच्दै गाउँदै जितिया मनाउने उनीहरु यसवर्ष घरमै बसेका छन् ।  आजको दिन थारु समुदायका महिला बिहानैदेखि निराहर ब्रत बस्छन् ।


अविवाहितले राम्रो वर पाउन र विवाहितले आफ्नो श्रीमान् र सन्तानको दीर्घायुको कामना गर्दै ब्रत बस्ने गर्छन् । यो पर्वमा चेलीबेटीलाई निम्ता गरी बोलाउने र लिन जाने (लेलहारी) गर्ने चलन छ । यस्तै जितियामा कोसेली (पहुरा) पुर्‍याउने चलन पनि छ । तीन दिनसम्म विभिन्न धार्मिक कार्य गरी यो पर्व मनाइदै आएका छ्न । 

 यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन मनाइन्छ । सप्तमीको दिनलाई ‘लाहा खाएके’, अष्टमीको दिनलाई ‘उपास’ र नवमीको दिनलाई ‘पारन’ भनिन्छ । आज अष्टमीको दिन भएकोले महिला बिहानैदेखि ‘उपास’ ब्रतबसि घरमै झम्टा नाँच नाचेर मनाइरहेका छन् ।  

हिन्दु धर्मालबम्बी नेपाली महिलाले मनाउने तीज जस्तै थारु समुदायले यो जितिया पर्वलाई महत्वका साथ मनाउने गरेका छन् । जितिया पर्वको आफ्नै धार्मिक तथा साँस्कृतिक महत्व रहेको छ । जितियामा ब्रत बसेपछि आफ्नो मनोकांक्षा पूरा हुने विश्वास रहेको थारु अगुवाहरुको भनाई छ । थारु समुदायका धेरै चाडपर्वहरु लोप हुने अवस्थामा पुगेका छन् । त्यसैले जितिया पर्वलाई लोप हुन नदिन थारु महिला अगुवाहरु पनि सक्रिय छन् । युवा पिढीलाई जितियाको महत्व र यस पर्वमा हुने क्रियाकलाप बारे युवायुवतीलाई जानकारी दिने गरेका छन् । 

0 comments :

Post a Comment

 
Top