साउन महिनाको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ ।  

आज बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिएका छन् । साउन महीना र सोमबार भगवान् शिवको महीना एवं बार भएकाले बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने र्धामिक विश्वास छ । पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा विशेष गरी महिला भक्तजनको भीड देखिन्छ ।  यता धरान,चतरा लगायतका विभिन्न धार्मिक स्थलहरुमा पनि व्रतालु तथा भत्तजनहरुको घुइचो लागेको छ । यस वर्ष साउनमा चार वटा सोमबार परेको छ । साउन ६, १३, २० र २७ गते सोमबार परेको छ । पहिलोपटक साउने सोमबारको व्रत गर्नेले पाँच वटा सोमबार परेको वर्षबाट सुरु गर्नुपर्छ भन्ने मान्यतासमेत छ । विशेष कामनासहित साउनको सोमबारको व्रत गर्नेले अन्तिम सोमबार गोदान, पूर्णपात्रसहित कामना पूर्ण होस् भनी व्रत समापन गरिन्छ ।।

0 comments :

Post a Comment

 
Top