मनाङ मर्स्याङ्दी क्लब राजधानीमा जारी ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको पहिलो क्वाटरफाइनलमा हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मनाङ अन्तिम ४ मा पुगेको हो । सातदोबाटोस्थित एन्फा कम्पलेक्समा मनाङलाई जित दिलाउन सर्वोच्च राईले निर्णायक गोल गरे । उनले खेलको २० औं मिनेटमा गोल गरेका थिए । सुमन गुरुङको पास सदुपयोग गर्दै सर्वोच्चले फस्ट बारमा हेडिङ गोल गरेका थिए । खेलमा मनाङविरुद्ध सुरुवातबाटै उत्कृष्ट खेल पस्किए पनि हिमालयन शेर्पा गोल गर्न चुकेको थियो । यो जितसँगै मनाङ पहिलो पटक प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मनाङ पहिलो संस्करणमा क्वाटरफाइनल पुगेपनि सेमिफाइनल पुग्न सकेको थिएन । यसअघि समूह चरणमा हिमालयन समूह ’ए’ को विजेता बन्दै क्वाटरफाइनल पुगेको थियो । एक मात्रै खेल जितेको हिमालयनले तीन खेलमा बराबरीको नतिजा निकालेको थियो ।
यस्तै मनाङ समूह ’बी’ बाट उत्कृष्ट तीनमा पर्दै क्वाटरफाइनल पुगेको थियो । समूह चरणमा मनाङले एक जित दुई बराबर र एक खेलमा हार व्यहोरेको थियो ।
अब मनाङले फाइनल प्रवेशको लागि ब्रिगेड ब्वाइज र एपीएफबीचको विजेतासँग खेल्नेछ ।
एन्फाका पुर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।

0 comments :

Post a Comment

 
Top